मकवानपुरमा सवारी दुर्घटना, चालकको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ मा आज दिउँसो सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज २११४ नम्वरको सुनौलो यातायातको सुमो इन्द्रसरोवर–२ सिमखोलामा आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको हाल सनाखत हुन सकेको छैन । उक्त सुमोमा चालकसहित ५ जना सवार थिए । तीमध्ये चालकको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, सोही दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा भारतका ज्ञानाबाद जिल्ला बिहार प्रान्तका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शंकर कुमार, २० वर्षीय बिशाल कुमार र १८ वर्षीय शिबशक्ति कुमार रहेका छन् । घाइतेमध्ये शिवशक्ति कुमारको अवस्था गम्भीर रहेको जनाएको छ । घाइते सबै जनालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय