साइकलमै रमाउनेका लागि

२०७८ साल यताको समय पनि आम नेपालीका लागि त्यति सुखद रहेन। कोभिड विश्वव्यापी महामारीको दोस्रो लहर। बाढी पहिरोको प्रकोप। निषेधाज्ञा आदि इत्यादि।
कोरोनाले त तर्साउनु तर्सायो। दोस्रो लहरको निषेधाज्ञा खुकुलो भएसँगै साइक्लिङका पारखीलाई पनि घर बाहिर निस्कन निक्कै सहज भयो। साउनको दोस्रो शनिबार। साइकल यात्राका कुनै गन्तव्य चयन त गर्नु नै थियो।
कोभिडले सन्त्रास। एकल साइकल यात्रा गर्दा एकांकीपनको पनि महशुस हुने। समूहमा घुम्दा स्वास्थ्य आचारसंहिता उल्लंघन। परिस्थिति जति जटिल भए पनि शारीरिक तथा मानसिक स्वास्थ्य सन्तुलित राख्नु आवश्यक छ। त्यसैले जे पर्ला सामूहिक साइकल यात्रामा जोडिन साइकल व्यवसायी मित्र उत्तम मानन्धरसँग सम्पर्क गरेँ। गुण्डुहुँदै डोलेश्वर पुग्ने योजना बन्यो।
शनिबार बिहान सूर्यविनायक नगरपालिकाको पाण्डु बजार प्रवेशद्वारमा भेला भयौं। उत्तम मानन्धर, दिपक सागर सिंह, विकास, खोकनाका रामनाथ महर्जनलगायत अन्य साइकले मित्र थिए। अझ रमाइलो पक्ष त धनगढीदेखि आएका सुदूर पश्चिमका साईक्लिङ तथा पर्यटन प्रवर्धनका अभियानकर्मी भरत विक्रम शाह पनि थिए। करिब एक दर्जन साइकले जम्मा भयौं। भलाकुसारीसँगै सूर्यविनायकको जंगलतर्फ अगाडि बढ्यौं।
१. राष्ट्रिय प्राणी उद्यान केन्द्र
करिब तीन कि.मी दूरी तय गरेपछि सूर्यविनायक जंगलको मद्यतर्फ पुग्यौं। सूर्यविनायक नगरपालिका वडा नं. ६,७ र ८ का सामुदायिक तथा राष्ट्रिय वन समेत करिब २४५ हेक्टरमा फैलिएको उक्त क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान केन्द्रको रूपमा विकास गर्ने योजना छ। वि.सं. २०७१ माघ १० गते तत्कालिन प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले प्राणी उद्यान केन्द्र विकास गर्ने निर्णय गरेको थियो। २०७३ साल असार ९ गते तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गर्नुभयो।
केही वर्ष पहिले श्री युद्वभैरव गणको विषेश तालिम केन्द्र थियो। नेपाली सेनाले तालिम प्रयोजनको लागि विमानको डमी बनाएको थियो। अहिले तालिम केन्द्र अन्यत्र स्थानान्तरण भयो। हाल सर्वसाधारणको भीड लाग्ने गरेको छ। बहाना चाहिएको छ घुम्ने, नौलापनका महशुस गर्ने। हामी पुग्दा बिहानैदेखि विमानको डमी भित्र र बाहिर टिकटक बनाउनेको बाक्लै घुईँचो थियो।
उद्यान निर्माण सम्पन्न भएपछि ललितपुर जावलाखेलको सदर चिडियाखाना यता सारिने स्थानीय बताउँछन्। वि.सं. १९८९ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्व शमशेरले जावलाखेलको सदर चिडियाखाना स्थापना गरेका थिए। वि.सं. २००७ सालको प्रजातन्त्र स्थापनापछि सर्वसाधारणका लागि प्रवेश खुल्ला गरियो। हाल सदर चिडियाखानामा करिब १२७ प्रजातिका ९०० भन्दा बढि जीवजन्तु छन्। ६ हेक्टर क्षेत्रफलमा निर्मित सदर चिडियाखाना अहिले निकै साँघुरो भईसक्यो। फराकिलो ठाँउमा स्थानान्तरण गरिए अलिकति भए पनि राहत महशुस गर्न सक्लान्।
केही क्षणको बसाईपछि पदमार्ग अर्थात हाईकिङ ट्रेलहुँदै मूल बाटो पुग्ने योजना बन्यो। वर्षादको मौसम। जंगलको चिप्लो उकालो ओह्रालो बाटो। अगुवाले बाटो विराए। कैलालीका समथरमा साइकल हुईँकाउने भरत विक्रम शाह र उनका दुई सहयात्री अनुप चौधरी र नवराज भाइलाई जंगल छिचोल्न निक्कै हम्मेहम्मे बनायो। लड्दै, पढ्दै जोर घुँडामा घाउ बनाउँदै बल्ल तल्ल मूलबाटो पुगे। दोस्रो गन्तव्य थियो डोलेश्वर महादेव।
मित्र उत्तम मानन्धर र म गफमा मस्त हुँदै अगाडि लाग्यौं। सबै आफैंमा मस्त थिए। साइकल व्यवसायी उत्तमले आफ्नो स्मृतिका पोका फुकाए। उनी साइकल व्यवसायमा लाग्ने परिवारका दोस्रो पुस्ताका हुन्। करिब सत्तरी वर्ष अगाडि उनका बुवा देव नारायण मानन्धर र ठूला बुबा बेखा नारायणले साइकल व्यवसाय शुरू गरेका थिए। कमलाक्षीमा स्थापित त्यो साइकल पसल नेपालकै दोस्रो पसल भएको बताए।
व्यवसायबाहेक साईकल संस्कृति फैलाउन लागिपरेका छन। तीन वर्षअघि उत्तम, दिपक सागर सिंहलगायतले एल.सि.सि पुचः स्थापना गरे। करिब २५ जनाको यो साइक्लिङ परिवारका सदस्य हरेक दिन बिहान छोटो दूरीमा रहेका विभिन्न स्थान पुग्नेगर्छन्।
सप्ताहन्तमा एक दिने साइक्लिङ यात्रामा निस्कन्छन्। त्यसैगरी वर्षमा एक पटक बहुदिने कार्यक्रमको लामा दूरी यात्रा आयोजना गर्छन्।  एल. सी. सी पुचः ले साइकलमा रूचि राख्नेका लागि हरेक शनिबार विभिन्न गन्तव्य चयन गरी घुमाउने गर्छ। यी सबै बताउँदै गर्दा हामी डोलेश्वरको प्राङ्गणमा पुग्यौं।
२. डोलेश्वर महादेव
‘केदारनाथको शिर भाग डोलेश्वर महादेवमा स्वागत छ,’ वरपरको मौनता भङ्ग गर्दै लाउड स्पिकर एकनास बजिरहेको थियो। बन्दाबन्दी गत वर्ष साउन महिना भर मन्दिर बन्द रह्यो। मन्दिरको छाना हाल्ने काम अपुरै थियो। श्रद्धालु भक्तजनको अवागमन ठप्प थियो। तर यस वर्षको माहौल भने गत वर्ष भन्दा भिन्न थियो। छाना निमार्ण सम्पन्न भईसकेको थियो। मन्दिर खुल्ला थियो। भक्तजनका लागि मन्दिर हाता प्रवेशद्वारमा मास्क, सेनिटाइजरको व्यवस्था थियो।
सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित डोलेश्वर महादेवलाई केदारनाथको शिरको रूपमा पुजिन्छन्। २०६६ सालमा केदारनाथका मुख्य पूजारीले डोलेश्वर महादेव केदारनाथको प्रमुख भाग भएको बताएका थिए। यो थाहा पाएपछि डोलेश्वर महादेव मन्दिरमा हजारौं हिन्दु धर्मावलम्वीको भीड लाग्न थाल्यो। साउनको सोमबार, बाला चतुर्दशी, माघ महिना तथा शिवरात्री जस्ता पर्वमा भक्तजनको भीड लाग्छ। केदारनाथको शिरभाग स्थापना भएको किंवदन्ती मूल पूजारी बच्चु जंङ्गमबाट सुन्न पाईन्छ।
१९९० सालको भूकम्पले पुरानो मन्दिर भत्कायो। पुनः निर्माणको क्रममा स्वरूप बदलियो। पुनःनिर्मित सानो मन्दिरलाई नयाँ विशाल मन्दिरले विस्थापित गर्दैछ। धार्मिक पर्यटन बढेसँगै भौतिक पूर्वाधार विकासले गति लियो। रिसोर्ट, होटल, रेस्टुराँ, बस्ती बाक्लिँदो छ।
डोलेश्वरबाट डाँडापारीको आशापुरी जान भरत विक्रमलाई सुझाएँ। अनुप र नवराज उकालो देखेर आत्तिए। उनीहरूको रोजाई भक्तपूर दरवार क्षेत्र घुम्ने पर्‍यो। यो मनासिव नै थियो। सहयात्रीलाई डोलेश्वरमै छाडेर एक्लै आशापुरीतर्फ लागेँ।
डोलेश्वरबाट आशापुरी करिब ६ कि.मीको दूरीमा छ। डोलेश्वरबाट उकालो लागेपछि १७५० मीटर उचाईको भञ्ज्याङ पुगिन्छ। भञ्ज्याङबाट काठमाडौं उपत्यकाको मनमोहक दृष्य देखिन्छ। आकास खुलेपछि हिमालको दृष्य पनि राम्रो देखिन्छ।
सेल्फी, टिकटक र चित्रकलाका पारखि आ-आफ्नै धुनमा व्यस्त थिए। म पनि फोटो खिच्ने मौका छोप्न रोकिएँ। भञ्ज्याङबाट उत्तर पूर्व ओह्रालो लागे आशापुरी महादेव मन्दिर पुगिन्छ।
३. आशापुरी महादेव
आशापुरी महादेव सूर्यविनायक नगरपालिका वडा नं. ८ मा पर्छ। समुन्द्र सतहबाट करिब १७५० मी. उचाईको उकालो चढेर अढाई कि.मी ओह्रालो लागेपछि आशापुरी पुगिन्छ।
आशापुरी महादेवको मन्दिर समुन्द्र सतहबाट करिब १६३० मिटर उचाइमा छ। मन्दिर परिसर भक्तपुर र काभ्रेपलाञ्चोकमा बाँडिएको छ। सुन्दर, शान्त र सौम्य वातावरणको आनन्द लिन यता घुम्नैपर्छ। धार्मिक मात्र नभएर सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल पनि हो आशापुरी।
हिन्दु धर्मावलम्बी तथा बौद्धमार्गीको समान आस्थाको केन्द्र मानिन्छ आशापुरी महादेव। आशापुरी महादेवको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास छ। साउनको सोमबार, माघ महिना तथा शिवरात्री जस्ता पर्वमा भक्तजनको भीड लाग्छ। गत वर्ष साउन महिनामा पूर्णरुपले बन्द थियो। यसवर्ष निषेधाज्ञा जारी भए पनि श्रद्धालुको लागि मन्दिर खुल्ला गरिएको छ।
आशापुरी वरपर साईकल यात्रा, पदयात्रा, वन भोज, चरा अवलोकन, वनस्पती अध्ययनका लागि मनग्य गन्तव्य छन्। आशापुरीलाई गन्तव्य  मानेर सिधै पनि जान सकिन्छ। कोटेश्वर, जगाती, साँगा भञ्ज्याङसम्मको करिव २० किमी तय गरेर दाँयातर्फ उकालो लाग्नुपर्छ।
चिया विश्रामपछि फर्कने जमर्को गरेँ। रूट चयन भयो- अर्को धार्मिक गन्तव्य अन्तलिङ्गेश्वर हुँदै। आशापुरीबाट काक्राबारी, साँगा भञ्ज्याङ, सूर्यविनायक, गुण्डुहुँदै अन्तलिङ्गेश्वर।
४. अनन्तलिङ्गेश्वर
सूर्यविनायक नगरपालिका ४ स्थित पगोडा शैलीमा पुनःनिर्मित अनन्तलिङ्गेश्वर मन्दिर निक्कै चित्ताकर्षक छ। समुन्द्र सतहबाट करिब १४३० मिटर उचाईमा अवस्थित अनन्तलिङ्गेश्वर धार्मिक, ऐतिहासिक तथा पुरातात्वीक महत्व भएको आकर्षक गन्तव्य हो। मन्दिर प्राङ्गणमा निर्मित कुण्ड, बासुकी नाग, उमा महेश्वर, लक्ष्मी, सरस्वती, गणेश, जलहरी, अन्नपूर्णा, बसाहा वनदुर्गा गरूड आदिका मूर्ति निकै शोभायमान छ।
मन्दिर स्थापनाको तिथि मिति नभेटिए पनि लिङ्ग उत्पत्तीका विभिन्न रोचक प्रसंग तथा किंम्बदन्ती पूजारीबाट सुन्न सकिन्छ। राजा नरेन्द्रदेवले सातौं शताब्दिमा जिर्णोद्धार गराएको शिलालेखले प्राचीन मन्दिर भएको प्रमाणित गर्छ।
२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको मन्दिरको पुनः निर्माण भईसकेको छ। श्रावण महिनाको सोमबार, जनै पूर्णिमा, बाला चतुर्दशी, शिवरात्रीमा श्रद्धालु भक्तजनको भीड लाग्छ। अनन्तलिङ्गेश्वर महादेवको दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वस छ। अनन्तलिङ्गेश्वरसम्म आइपुग्दा घाम निकै चर्को थियो। बाक्लो जंगलको बीचमा अवस्थित महादेव मन्दिर परिसरको शान्त वातावरणमा आईपुग्दा निकै राहत मिल्यो।
साउने शनिबार एक दिने साइकल यात्रामा सूर्यविनायक नगरपालिका भित्रका तीन महादेवको दर्शन गरियो।
अन्त्यमा, 
सवारीसाधन मध्ये सबैभन्दा निम्सरो साधन साइकल। मानव मांसपेशीको शक्ति र सन्तुलनले चल्ने मेसिन। उपत्यकामा लगभग शून्यतर्फ ओह्रालो लाग्दै गरेको साइकलप्रेमीको संख्या एकदशक यता विस्तारै उकालो लाग्दैछ।
साहसिक खेल, आन्तरिक तथा बाह्य पर्यटन, स्वास्थ्य, मनोरञ्जन, वातावरण संरक्षण, सामाजिक न्यायको दृष्टिले, आर्थिक मितव्ययीताको हिसाव, वैकल्पिक रोजगारी, व्यवशाय तथा अन्य विविध कारणले साइकलप्रेमीको संख्या बढ्दो छ।
भौतिक दूरी कायम गरी विविध प्रयोजनको लागि उपयुक्त साधन हो साईकल। साइकलको संस्कृति प्रवर्धन गर्न नागरिक स्तर, स्थानीय संघ सस्था, स्थानीय, संघीय, केन्द्रिय सरकार सबै लागिपरौं। ‘पेट पाल्नको लागि र पेट फाल्नका लागि साइकल’ भन्ने बहसमा नअलमलिऔं। प्रकोपबाट बच्दै जीवन सहज बनाउन साइकल चढौं, स्वस्थ्य रहौं।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय