फरहान अख्तरको फिल्ममा एकसाथ देखिने भए प्रियंका, आलिया र कट्रिना

फरहान अख्तरले निर्देशन गर्ने नयाँ फिल्ममा प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफ एक साथ देखिने भएका छन्। फरहानले निर्देशन गर्ने ‘जी ले जरा’मा यी तीन अभिनेत्रीले सँगै अभिनय गर्न लागेका हुन्। सन् २०११ मा ‘डन २’ फिल्मको निर्देशनपछि फरहान अब ‘जी ले जरा’ फिल्मबाट निर्देशकको रुपमा फर्किन लागेका छन्।
मगंलबार प्रियंका, आलिया, कट्रिना र फरहानले सामाजिक सञ्जालमा ‘जी ले जरा’को पोस्टर सार्वजनिक गरेर नयाँ फिल्मबारे जानकारी दिएका हुन्। पोस्टरमा प्रियंका, आलिया र कट्रिनाको नामसँगै भारतका विभिन्न ठाँउको चित्रबाट बनेको गाडी देख्न सकिन्छ। यसले पुरानो चर्चित फिल्म ‘दिल चाहता है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ फिल्मजस्तै झलक दिएको हिन्दुस्तान टाइम्सले बताएको छ।
फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै अभिनेत्री आलियाले क्याप्सनमा ‘के कसैले रोड ट्रिपबारे कुरा गर्यो?’ लेखेकी छिन्। यसले यो नयाँ फिल्म तीन महिलाको सडक यात्रासँग सम्बन्धित हुनसक्ने संकेत दिएको छ।
‘जी ले जरा’ले एक दशकपछि फरहान अख्तरको निर्देशन क्षेत्रमा कमब्याक भएको देखाउछ। अभिनयमा लाग्नुअघि उनले साहरुख खानको अभिनयमा ‘डन २’ निदेर्शन गरेका थिए। ‘जी ले जरा’ जोया अख्तर, फरआन अख्तर र रीमा काग्तीले लेखेका हुन्। यो फिल्म रीमा, जोया, रितेश सिधवाणी र फरहानको निर्माणमा बन्न लागेको हो। हिन्दुस्तान टाइम्सका अनुसार ‘जी ले जरा’ सन् २०२३ मा सार्वजनिक हुनेछ।
‘जी ले जरा’को अभिनयसँगै आलिया भट्टको फिल्मको सूची झनै लम्बिएको छ। उनी ‘गंगुबाइ काथियावाडी’, ‘आर.आर.आर’, ‘ब्रह्मास्त्र’ र ‘डार्लिङ’ फिल्महरुको तयारीमा पनि छिन्। अर्कोतिर यही फिल्मबाट प्रियंका चोपडा बलिउड फर्किएकी छिन्। पछिल्लोपटक उनले फरहान अखतरसँगै ‘द स्काइ इज पिंक’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी थिइन्। कट्रिना कैफको हातमा भने नयाँ फिल्म ‘फोन भूत’ र ‘टाइगर ३’ छ।
 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय