मनसुन पुनः सक्रिय : आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक आइपुगेकोले आगामी साता देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् समिर श्रेष्ठले भने–“अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ। वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१.६ डिग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५.५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय