कलाकारिताले डेराको जिन्दगी दियो

४३ वर्षमा टेक्यो सुवासप्रसाद गजुरेलको कलाकारिता यात्रा । उमेरले पनि कोल्टे फेरेको छ । तर फेरिएन उनको लवाइ, खुवाइ र बोल्ने शैली । उनीका समकक्षी घर, गाडी सबथोक जोडेर विलाशिताको जीवन बिताउँछन् । उनको भने २६ वर्षदेखि डेराको बास छ । तर पनि खुसी र सुखी छन् ।

‘साथीहरूसँग दाम छ, मसँग नाम । मेरेपछि दामसँगै लान सकिन्न, काम पनि लाग्दैन । नाम भने सधैँ रहन्छ,’ उनले खुसी प्रकट गरे । एक सयभन्दा बढी सिरियल, ६० भन्दा बढी फिल्म र त्यसकै हाराहारी नाटक अभिनय गरेका गजुरेल चर्चित कलाकारको अलवा फिल्म निर्देशक पनि हुन् । ४ वटा फिल्म निर्देशन गरेका गजुरेलको अस्कर उठाउने सपना पनि छ । पहिले अभिनयका कारण ‘श्रीराम बाजे’ र अहिले ‘कागे डन’को रूपमा चर्चित सुवासप्रसाद गजुरेलका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
४३ वर्षमा कलाकारिता
मेरो पेसा, कर्म, धर्म जे भने पनि कलाकारिता हो । विसं २०३५ मा एसएलसी पास गरेर काठमाडौँ पढ्न छिरेको थिएँ । सोही समयदेखि  रङ्गमञ्चमा जोडिएँ । २०३६ सालमा ‘सत्यवचन’ भन्ने नाटकबाट अभिनय डेब्यु गरे । त्यतिबेला सुरु भएको अभिनय यात्रा दुःख, सुख, आरोह अवरोहका बाबजुत अहिलेसम्म अनवरत छ ।
‘सत्यवचन’ नाटकपछि केही नाटक अभिनय गर्दै गर्दा नेपाल टेलिभिजनको स्थापना भयो । २०४२ सालमा रमेश बुढाथोकीको निर्देशन रहेको ‘वाचा बिर्सिएको छैन’ नामक सिरियलबाट कलाकारितामा अर्काे फड्को मारेँ । त्यो बेलादेखि अहिलेसम्म लामा र छोटा गरेर एक सयभन्दा बढी सिरियल अभिनय गरिसकेँ । नाटक ४० बढी भए होला ।
फिल्म भने शम्भु प्रधान निर्देशित ‘सम्पत्ति’ पहिलो हो । आजसम्म करिब ६० भन्दा बढी फिल्म पुगेहोला । सिरियल, फिल्म, नाटकमा मैले धेरै प्रकारका भूमिका निर्वाह गरेको छु । अभिनयमा मलाई दर्शक माझ बढी चिनाएको भने सिरियल ‘देवी’ले हो । उक्त सिरियलमा मैले श्रीराम बाजेको भूमिका निर्वाह गरेको थिएँ । अहिले पनि धेरैले मलाई भेट्दा श्रीराम बाजे भनेर बोलाउँछन् । यो सिरियल तीन वर्ष नेपाल टेलिभिजनबाट नियमित प्रसारण भएको थियो । त्यो समय अहिलेको जस्तो अन्य टेलिभिजन थिएन । त्यसैले सिरियलले लोकप्रियता अपत्यारिलो थियो ।
श्रीराम बाजेको चरित्र मेरो कुरा लगाउने, यताउति गर्ने थियो । भूमिकाका कारण सो समयले केही दर्शकले बाटोमा हिँड्दा गाली पनि गर्थे । मैले फिल्ममा भिलेनदेखि विभिन्न भूमिका निर्वाहसमेत गरेको छु ।
पछिल्लो समय सिरियल ‘उल्टो सुल्टो’ अभिनय गर्दैछु । जसमा कागे डनको भूमिका रहेको छ । जुन दर्शकले निकै रुचाउनु भएको छ । सार्वजनिक ठाउँमा हिँड्दा कतिपयले अचेल कागे डन भनेर समेत बोलाउँछन् ।
मैले म्युजिक भिडियो समेत ३५ वटाभन्दा बढी गरेको छु । ‘ए मेरा मावलाका हजुर बाउ’, ‘ए बा किन्देउन कार’ लगायत हिट छन्  । सामाजिक चेतनाका, कमर्सियल लगायत ६० बढी विज्ञापन चलचित्रमा भएका छन् । विज्ञापन, फिल्म निर्देशनसमेत गरेको छु । मैले निर्देशन गरेको फिल्म माया बैगुनी, मजदुर, को होला मेरो मायालु, बसाइँ हुन् । २०६४ मा निर्देशन गरेको बसाइँ अस्कर अवार्डमा  समेत पुग्न सफल भएको थियो ।
कलाकारिताबाट थुप्रै अवार्ड, पुरस्कारसमेत पाएको छु । त्यो मैले आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति जस्तो लाग्छ । मलाई वकिल बनाउने इच्छा बुबाआमाको थियो । कलाकारिता गर्दा त्यो इच्छा पूरा गर्न सकिनँ ।
मासु मीठो पकाउँछु
मैले खाने त्यस्तो स्पेसल खाना केही छैन । सामान्य दाल, भात र तरकारी नै मनपर्छ । तरकारीमा माछा, मासु, सागलगायत सबथोक मीठो लाग्छ । मननपर्ने भन्ने केही छैन ।
कहिलेकाहीँ साथीभाइ, परिवार र आफन्तसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा चिया, कफी र कहिलेकाहीँ मदिरासमेत पिउँछु । पकाउन रुचि छ । मासुको आइटम मीठो पकाउन सक्छु । घरपरिवारले मैले पकाएको मासुको सधैँ तारिफ गर्छन् ।
क्लब जान्नँ
दैनिक बिहान हिँड्छु । अन्य समय पनि हिँड्ने भएकाले फिट्नेसको काम त्यसैले गरेको छ । फिट्नेसका लागि क्लब पहिले पनि गइनँ, अहिले पनि जाँदिनँ । अन्य एक्सरसाइज पनि केही गर्दिनँ । धेरैभन्दा धेरै हिँड्ने कोसिस गर्दछु ।
पहिरन सुहाउँदैन
पोसाकमा खासै सोख छैन र ध्यान दिन्नँ । धेरैजसो सर्टपाइन्ट लगाउँछु । मेरो ज्यान पातलो भएकाले शरीरमा पहिरन नसुहाउने रहेछ । त्यसैले हल्का खालको ज्याकेट नियमित लगाउँछु । ज्याकेटमा धेरै खल्ती हुने भएकाले काजपत्र, मोबाइल राख्न सजिलो समेत हुन्छ ।
दौरासुरुवाल, कमिज सुरुवाल सुटिङमा मात्र प्रयोग गर्छु । फर्मल कार्यक्रम, विवाह, पार्टी लगायतमा सुटपाइन्ट लगाउँछु । मेरो पहिरनमा मनपर्ने रङ्ग गुलाबी हो । मेरो शरीरमा रेडिमेट पहिरन प्रायः  फिट नहुने भएकाले कहिलेकाहीँ रेडिमेड र  धेरैजसो सिलाएरै लगाउँछु । पहिरनमा ब्रान्ड खोज्ने बानी छैन । मनपरेको किन्छु । जुत्तासमेत मलाई रेडिमेड भन्दा सिलाएर लगाउन मनपर्छ ।
पुस्तक पढ्छु
समय भयो कि किताब पढ्न मनपर्छ । नियमित किताब पढ्छु । अहिले विवश वस्तीको नयाँ कथा सङ्ग्रह निस्किएको रहेछ  । त्यो किनेर पढ्दैछु । इतिहासका, खोजमूलक विषय, कथा सङ्ग्रह, रोचक विषयले भरिएका पुस्ताक पढ्न मनपर्छ ।
प्राय साँझको समय पढ्ने गरेको छु । पत्रपत्रिकामा गम्भीर विषयमा निस्किएका आर्टिकलहरू, अन्तरवार्तासमेत पढ्छु ।
पेसाले घुमायो
घुमघाममा धेरै रुचि छ । मेरो पेसा कलाकारिता भएकाले यसैले धेरै ठाउँ घुमाएको छ । देशको विकट विकट ठाउँमा भने पुग्न सकेको छैन । फिल्म, टेलिफिल्म सुटिङ र सडक नाटकको क्रममा करिब ६५ भन्दा बढी जिल्ला घुमेँ होला कि ।
विदेशमा भुटान, मस्को, भारत लगायत केही देश टेकेँ भनौँ । बैङ्कक, हङकङलगायत केही देश जाने इच्छा छ । सायद पुग्छ होला कि । समयले के गर्छ यसै भन्न सकिन्न ।
भलिबल खेल्थेँ
खेलकुद धेरै प्रकारका छन् । स्कुल पढ्दा म भलिबल, फुटबल खेल्थेँ । फुटबलभन्दा पनि भलिबलमा बढी रुचि थियो । भलिबलमा जिल्लामा विभिन्न प्रतियोगिता खेलेर पुरस्कारसमेत जित्थेँ ।
पछिल्लो समय खेदकुदको माहोल भएन । अहिले समय मिल्यो भने भलिबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरू हेर्छु ।
नर्मल मोबाइल
अहिले मसँग सामसुङ ब्रान्डको जे सेभेन भन्ने नर्मल खालको एउटा मोबाइल छ । मोबाइल फेरि फेरि बोक्ने बानी छैन । लामो समयसम्म एउटै मोबाइल चलाउँछु ।
मोबाइलमा फोन गर्ने, उठाउने, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने गर्छु । मोबाइल छिटोछिटो फेर्न मनपर्दैन ।
धेरै भयो नहेरेको
पहिले धेरै टीभी हेर्थें । अहिले मोबाइलबाट टीभीका कार्यक्रम हेर्न मिल्ने भएकाले करिब दुई वर्षभयो होला मैले टीभी हेरेको छैन । पहिले टिभीमा टेलिसिरियल, कमेडीका कार्यक्रम, समाचार, अन्तरवार्ता हेर्थें ।
आर्ट फिल्म मनपर्छ
चलचित्र धेरै हेर्छु हलमा, घरमा पनि । नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत सबै प्रकारका चलचित्र मनपर्छ । दक्षिण भारत (साउथ)का पनि मनपर्छ ।  फिल्मबाट पनि अभिनयमा आवश्यक धेरै कुरा सिक्ने सकिन्छ । मलाई विशेष गरेर आर्ट फिल्म मनपर्छ । चर्चामा आएका, विभिन्न पुरस्कार प्राप्त गरेका फिल्म खोजीखोजी हेर्छु ।
केटी खोज्ने बुबा
विसं २०४८ सालमा मैले मागी विवाह गरेको हो । त्यो समय म काठमाडौँमा कलाकारिता गरिरहेको थिएँ । धनुषामा आमाबुबाले मेरा लागि केटी खोज्नुभएको छ । त्यही केटीसँग विवाह गरेँ ।
विवाहअगाडि, पछाडि बाहिर प्रेम पनि भएन । केहीले प्रेम प्रस्ताव त राखेका थिएँ । कलाकारितामा अगाडि बढ्नुपर्छ । विवाह भइसक्यो । बाहिरी चक्करमा फस्नु हुँदैन भन्नेमा म सचेत थिएँ ।
ठूलो छैन सपना
सपना त्यस्तो ठूलो छैन । एउटा राम्रो फिल्म निर्देशन गर्ने छ । मैले अस्कर पुग्ने फिल्म बनाए । त्यस्तै आर्ट वा अन्य विषयमा अस्कर उठाउने फिल्म बनाउने मन छ ।
जसले नेपालको पहिचान विश्वमा दियोस्, विश्वमा छरिएर रहेका नेपालीले यो हाम्रो देशको फिल्म भनेर गर्व गर्न सकून्, सबैले मनपराउने खालको होस् । त्यस्तो फिल्म बनाउने इच्छा छ । एक सब्जेट छ ‘चिहान’ भन्ने । केही समयअगाडि फिल्म बनाउन पनि आँटेको थिए । कोरोनाले बिथोल्यो । समय अनुकूल भएपछि बनाउँछु ।
नाम छ, दाम छैन
कलाकारिताका दिन सम्झने हो भने धेरै दुःखका क्षण, घटना छन् । काठमाडौँ पढ्न आएको थिएँ । बुबाको सपना वकिल, न्यायाधीश बनाउने थियो । कलाकारिताका कारण त्यो छोडियो ।
कलाकारितामा जति नै दुःख झेले पनि दुःखको महसुस भएको छैन र गरिनँ । दर्शकले चिन्नुहुन्छ, माया दिनु भएको छ । सार्वजनिक स्थानमा फोटो खिचौँ, सेल्फी लिऔँ भन्ने भेटिन्छ । त्यसले गर्दा  फिल्ममा दुःख हुँदो रहेनछ ।
आर्थिक हिसाबले पछिपरेको छु । समकक्षी, साथीभाइ गाडी चढ्छन्, घर ठहराएका छन् । उनीहरूको तुलनामा आर्थिक उन्नति गर्न सकिएन । विगत २६ वर्षदेखि म एउटै घरको त्यही डेरामा छु । कलाकारिताले मलाई डेराको जिन्दगी दियो ।
मेरो दाजुभाइको उन्नति राम्रो छ, साथीभाइले पनि राम्रो प्रगति गरेका छन् । कलाकारिता मेरो रुचिको पेसा भएकाले उन्नति गर्न नसकेको पनि पछुतो भने छैन । किनभने दाम हुनेले नकमाएको नाम छ मेरो । मृत्युपछि लिएर जाने त्यहीँ । पैसा होइन ।
गीत सुन्छु
फुर्सदमा गीतसङ्गीत सुन्छु । लोकगीत, दोहोरी आधुनिक लगायत नेपाली, हिन्दी सबै प्रकारको सुन्छु । बढी मनपर्ने आधुनिक हो । त्यसमा पनि सदाबहार खालका गीत मनपर्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय