कृपा दैनिकका प्रधान सम्पादक नवराज उपाध्यायको निधन

बारा जिल्लाको पहिलो कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको ८४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । लामो समय राजनीति र शिक्षण पेसामा सकृय उपाध्यायको सोमबार बिहान ३ बजेर ३५ मिनेटमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित आफ्नै निवास निधन भएको हो ।

वीरगन्जस्थित निलकण्ड अस्पतालको आइसियु कक्षमा उपचाररत उपाध्यायलाई आइतवार दिउसोमात्रै निवासमा ल्याइएको होे । ४५ दिनसम्म आइसियुमा राखेर उहाँको उपचार भएको हो । गत बैशाख ३० गते मास्तिष्कघात भएपछि उपाध्ययालाई वीरगन्जको नारायणी वयोधा, काठमाण्डौंको अन्नपूर्ण न्युरो, नागरिक अस्पताल हुदै एक महिनाअघि वीरगन्ज ल्याएर निलकण्डको आइसियु कक्षमा राखिएको थियो । उपाध्याय लामो समयदेखि दम रोगबाट समेत पिडीत हुनुुहुन्थ्यो ।

स्वर्गीय उपाध्यायको रौतहटको बागमती नदीमा सोमबार दिउँसो हिन्दू परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । उहाँको पार्थिक शरीरमा माइला छोरा कमल उपाध्यायले दागबत्ती र नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य बसरुद्धिन अंसारी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हीरा गिरी, एमाले प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ र सुर्दशन कोइरालाले नेकपा एमालेको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

स्वर्गीय उपाध्यायको तीन छोरा र दुई छोरी छन् । उहाँका जेष्ठ सुपुत्र किरणकुमार र कान्छी सुपुत्री सुधा दहाल हाल अमेरिकामा हुनुहुन्छ भने कान्छा छोरा कुन्दन बेलायतको सरकारी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ । जेठी छोरी सुष्मा ज्ञावालीले भने वीरगन्जस्थित एक शिक्षण संस्थामा अध्यापन गर्दै आउनुभएको छ । धर्मपत्नी उमादेवी उपाध्यायको भने २०७१ साल साउन १६ गते नै निधन भइसकेको छ ।

उपाध्यायको शिक्षण यात्रा

१९९६ साल साउन २८ गते पर्सा जिल्लाको जगरनाथपुरमा जन्मनु भएका उपाध्यायले लामो समय शिक्षण पेसालाई संगाल्नु भएको छ । सर्लाही, रौतहट, बारा र पर्सामा गरेर उहाँले एक दर्जन हाराहारीका विद्यालयहरुमा उहाँले शिक्षण गर्नुभएको थियो । भारतको बनारस यूनिभर्सरसिटीबाट आचार्य उत्तीर्ण गर्नुभएका उपाध्यायले वीरगन्जको श्रीपुर माविमा लामो समय प्रधानाध्यापकको रुपमा रही सेवा गर्नुभएको थियो ।

पर्साकै बिरन्चीवर्वा र वीरगन्जको माइस्थान माविमा सेवा गर्नुभएका उपाध्यायले श्रीपुर माविमा भने प्रअको जिम्मेवारी निभाउनु भएको हो । उहाँले नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षमा रहेर पनि काम गर्नुभएको थियो ।

जेल जीवन

शिक्षक संगठनमा रहेर काम गर्दागर्दै उहाँलाई तत्कालिन पंचायती शासकहरुले पटक पटक नियन्त्रणमा लिएर थुनामा राखेका थिए । सुरुबाट नै बामपन्थी राजनीतिमा सकृय उपाध्यायलाई पंचायत शासकहरुले २०३६, २०४२ र २०४४ सालमा पक्राउ गरी हिराशतमा राखेको थियो ।

जनताको सेवक : वडा अध्यक्ष

शिक्षण पेसाबाट अवकास भएपछि २०५४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा उहाँ जनताको मन जित्दै वीरगन्जको वडा अध्यक्ष पदमा चुनिन सफल हुनुभएको थियो । नेकपा एमालेका तर्फबाट वीरगन्ज महानगरपालिकाको तत्कालिन वडा नम्बर १६ बाट उहाँ वडा अध्यक्षमा चुनिनु भएको हो । त्यसअघि २०३० सालमा पनि उहाँ वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यत्तिबेला शिक्षक पनि चुनावमा उठ्न पाउने व्यवस्थाको उपपयोग गर्दै उहाँ वीरगन्जको तत्कालिन वडा नम्बर १४ को वडा अध्यक्षमा विजयी हुनुभएको थियो ।

प्रधानसम्पादकको भूमिका

२०६० सालमा बारा जिल्लाको सबैभन्दा पहिलो दैनिकको रुपमा कृपा दैनिक प्रकाशित भएपछि उपाध्याय अभिभावकीय भूमिकामा रहनुभएको थियो । कृपा दैनिकमा २०६० साल फागुन ७ गतेबाट नै उहाँ प्रधानसम्पादकको रुपमा रहनु भएको थियो । स्वर्गीय उपाध्यायले भारतसहित अमेरिका र बेलायत लगायतका देशहरुको पनि भ्रमण गर्नु भएको थियो । उहाँले ‘नवप्रज्ञापन’ पुस्तक समेत प्रकाशित गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय