शीर्ष नेताहरुको लामो गृहकार्य पश्चात समितिको सदस्य टुंगो,सभापति चयनमा अझै झमेला

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिना पछि विषयगत समिति गठन भएको छ । समिति गठन भए पनि समितिका सभापति भने चयन गर्न अझै केही समय लाग्ने भएको छ । शीर्ष नेताहरुको लामो गृहकार्य पश्चात समितिको सदस्य टुंगो लागेपनि सभापति चयनमा अझै झमेला रहेको छ ।

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा रहने सांसदहरुको नाम राजनीतिक दलले पठाएपछि समितिहरुले पूर्णता पाएको हो । सभामुख देवराज घिमिरले शुक्रबारको संसद बैठकमा समितिका सदस्यहरुको नाम प्रस्ताव गरेका हुन । सभामुख घिमिरेले नाम प्रस्ताव गरेपछि संसद बैठकले अनुमोदन गरेको छ ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशनको अन्तिम वैठकमा उनले सवै समितिमा रहने सांसदहरुको नाम टुंगिएको जानकारी गराएका हुन् । समितिहरुले अव सभापति चयन गर्दै नियमित रुपमा आफ्नो गतिविधि सञ्चालन गर्नेछन् । सभापति चयन नहुदाँसम्म जेष्ठ सदस्यको नेतृत्वमा समिति सञ्चालन हुनेछ ।

गत साता (सोमबार) बसेको प्रमुख तीन दलको बैठकमा समितिको सभापति लिने बारेमा सहमती जुटेपछि ठुल्ला दलले नामावली संसद सचिवालयमा बुझाएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बीचमा संसदीय समितिको भागबण्डा टंगिएको थियो ।

सहमती अनुसार लेखा समितिको सभापति सहित अन्य दुई समितिको नेतृत्व (सभापति) एमालेले लिने र ७ वटा समितिको नेतृत्व (सभापति) सत्तारुढ दलहरुले लिने सहमती भएको थियो । तर कुन समिति कसले लिने भन्ने बारेमा टुंगो लागेको छैन् । यस्तै सत्तारुढ दलका भित्रमा कुन समिति कसले र कतिवटा लिने अझै टुंगो लागिसकेको छैन् ।

शीर्ष नेताहरुका बीचमा भएको सहमती अनुसार संसदका दुई विशेष समितिमध्ये राज्यको निर्देशक समिति एमालेले पाउनेछ भने संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले गर्नेछ । अन्य समितिको सभापति कसले लिने भन्ने बारेमा अझै दलहरुका बीचमा सहमती हुन बाँकी नै छ ।

प्रतिनिधिसभाबाट गत १९ चैतमा पारित नियमावलीअनुसार प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहनेछन ।

ओली, नेपाल, ठाकुर एउटै समितिमा
एमाले अध्यक्ष ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एउटै समिति रोजेका छन् । ओली र नेपालले अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति रोजेका हुन् ।

यसैगरी यस समितिमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह लगायतका शीर्ष नेताहरु समेत रहेका छन् ।

देउवा, नेम्वाङले कानून रोज्दा लामिछानेले रोजे राज्य व्यवस्था
कानून, न्याय तथा मानवअधिकार समितिमा कांग्रेसका सभापति देउवाले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

यही समितिमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत रहेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समेत राज्य व्यवस्था समिति नै रोजेका छन् ।
यसैगरी जनमत पार्टीका अध्यक्ष सिके राउत पूर्वाधार विकास समितिमा रोजेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन सार्वजनिक लेखा समितिमा बसेका छन् ।

कार्यवाहक राष्ट्रपति यादवद्धारा अधिवेशन अन्त्य
यसैबीच कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसद अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को १२ वैशाखको निर्णयअनुसार कार्यवाहक राष्ट्रपति यादवले संसद अधिवेशन अन्त्य गरेका हुन् ।

संसद बैठक शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ । ४ मंसिरमा आम निर्वाचन भएपछि १५ मंसिरमा हिउँदे अधिवेशन सुरु भएको थियो । १५ जेठमा बजेट ल्याउनुपर्ने भएकाले यो अधिवेशन अन्त्य गरेको सरकारले चाँडै बजेट अधिवेशन बोलाउनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय