एमालेको अर्को अभियान ‘देशैभरी– छोराछोरी र भावी वडा नेता’ शुरु गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘मिसन ग्रासरुट’ सम्पन्न गर्दै ‘देशैभरी–छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बिहिबारदेखी शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट कार्यक्रमबारेमा समिक्षा गर्दै देशैभरी छोराछोरी र भावी वडा नेता कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।
एमालेले आयोजना गरेको मिसन ग्रासरुटका कार्यक्रममा युवाको उपस्थिति कम भएको निष्कर्ष निकाल्दै दुई महिने अभियानमा युवाको आकर्षण घटिरहेको देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘अहिलेका युवाहरु’ आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन् । यसलाई कसरी सम्बोधन गर्ने ? के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं ?’ अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टी संरचनामा पाका नेता÷कार्यकर्ताहरुको संख्या अति देखिएको प्रतिवेदनमा उल्लेख छ । औसत उमेर ४५ को हाराहारीमा देखिएकाले ओलीले ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन् । अभियानका क्रममा युवाहरुको खोजी भएको उल्लेख गर्दै उनीहरुलाई प्रशिक्षण कार्यक्रम (इन्कुभेसन सेन्टर) खोल्नुपर्ने प्रस्ताव पनि अध्यक्ष ओलीको छ ।

नेता–कार्यकर्ताकै छोराछोरी पार्टीमा नजोडिएको कुरालाई सम्बोधन गर्ने ‘देशैभरी–छोराछोरी’ अभियान सञ्चालनका लागि प्रस्ताव गरिएको हो । एमालेले १० वैशाखमा सम्पन्न तीन क्षेत्रको उपनिर्वाचनको समीक्षा गर्दै संख्यात्मक नभए पनि गुणात्मक हानि पार्टीले बेहोरेको उल्लेख छ ।

उपनिर्वाचन भएका क्षेत्रहरुमा मंसिर ४ भन्दा मत घट्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै उनको प्रतिवेदनमा भनिएको छ, ‘संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि पार्टीको मतमा उल्लेखनीय मतको कमी आउनु चिन्ताको विषय हो ।’

मंसिरमा सम्पन्न आम निर्वाचनको तुलनामा उपनिर्वाचनमा मत घट्नु र वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर समीक्षाको विषय भएको बताइएको छ । यस विषयमा सम्बन्धित प्रदेश र क्षेत्रले समीक्षा गर्नुपर्ने ओलीको भनाई रहेको छ ।

अध्यक्ष ओलीले सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको आरोप लगाउँदै उल्लेख गरेका छन, ‘सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको छ । राष्ट्रिय महत्वका विषयमा नीतिगत सहमति खोज्ने होइन, मिलिजुली सत्ताभोग र दोहन गर्ने उद्देश्यले हुने यस्ता गठबन्धनले राजनीतिलाई थप विकृत बनाइरहेको छ ।’

अध्यक्ष ओलीले ०७८ सालमा सर्वोच्च अदालतको फैसलाबाट गलत बाटोमा अघि बढेको देशलाई आमनिर्वाचनपछि फेरि नयाँ कोर्समा लैजाने प्रयास भए पनि त्यो प्रयास असफल भएको बताएका छन् ।

‘पार्टीले ०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्यो । एमाले, माओवादी केन्द्रसहित सात दलको समर्थनमा सरकार बन्यो । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेसँगै समाजमा उत्साह देखा पर्यो । पुँजी बजारमा सकारात्मक प्रभाव देखियो । यो ०७८ असारको सर्वोच्च अदालतको परमादेशसँगै निर्माण भएको गलत कोर्सलाई सच्याउने पहल थियो’ ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन, ‘तर आफैँ चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण हुन पुग्यो ।’

उनले माओवादी केन्द्रको चरित्रबाट एमाले अपरिचित नरहेको दाबी गर्दै यसपटकबाट माओवादीको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको बताएका छन् ।

तीन सय नक्कली शरणार्थी
अध्यक्ष ओलीले १ लाख भुटानी शरणार्थीलाई अमेरिका पठाइँदा तीन सय जना नक्कली शरणार्थीलाई घुसाइएको दावी गरेका छन् । तीन सय जना नक्कली शरणार्थी घुसाइएको जानकारी आफूले पाएको र त्यसबारेमा संसद्मा बोल्ने ओलीको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको संलग्नतामा अमेरिका पठाइएका भुटानी शरणार्थी सबै सक्कली नभएको दावी उनले गरेका छन् । त्यस विषयमा अब ४ जेठमा बस्ने संसद् बैठकमा आफूले तथ्य र प्रमाणसहित बोल्ने ओलीले जनाएका छन् ।

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरु झापा र मोरङका विभिन्न शिविरमा थिए । स्वदेश फिर्तीको पर्खाइमा रहेका १ लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान नभएपछि तेस्रो मुलुक पठाउने योजना अघि सारिएको थियो ।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास गरिएको थियो ।

‘यसरी अमेरिका पठाएका मध्ये केही व्यक्ति नक्कली थिए । यो कार्य कुन सरकारको पालामा भएको थियो ? यसमा केही सूचना प्राप्त भएको छ । थप संसद्मै जानकारी गराउँनेछु’ ओलीले भने ।

नक्कली शरणार्थी प्रकरणमा आफ्नै पार्टीमा रहेका व्यक्ति र हिजो आफ्नै सरकारमा रहेका मानिसहरुको नाम आएको भन्दै जोसुकैको नाम आओस् दोषी रहेछ भने कारबाही हुनुपर्ने उनले बताए ।

सरकारले रोक्न नसक्ने गरी सतहमा आएपछि यो प्रकरण सार्वजनिक भएको दावी गर्दै उनले भने, ‘भ्रष्टाचार विभिन्न ठाउँमा भइरहेको छ । त्यसको ढाकछोप गर्ने र नबोल्ने हुँदै आएको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउनु नै गलत हो भन्ने जस्तो भएको छ ।’

नक्कली शरणार्थी प्रकरण अहिले रोक्न नसकिने गरी यस्तो परिस्थिति आयो, जसले भ्रष्टाचार सतहमा आएको दाबी उनले गरे । नक्कली शरणार्थी प्रकरण जेसुकै गरे पनि कसैले रोक्न नसक्ने भएपछि सतहमा आएको ओलीको दाबी छ ।

‘जबसम्म दोषी ठहर हुँदैन, हामी दोषी नै हो भनेर करार हामी गर्न सक्दैनौं । यसमा अदालतले फैसला गर्नुपर्छ’ ओलीले भने, ‘हामी हेरिरहेका छौं । कसैलाई फसाउन अर्कातिर सुई देखाउने प्रयास भइरहेको देखेका छौं । अखबारी हल्ला चलाउने र निराधार र आग्रही ढंगले एमालेका विरुद्ध प्रचार भएको छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गर्न उनले आग्रह गरेका छन् । यसअघि पार्टीले औपचारिक रुपमा विज्ञप्ति जारी गरेर निलम्बन गरेको र आत्मसर्मपण गर्नसमेत आग्रह गरेको भन्दै उनले पुनः आग्रह गर्ने बताए । एमाले भ्रष्टाचार विरुद्ध उभिएको दल भएकाले अनुसन्धानमा सहयोग गर्नुपर्ने भन्दै उनले रायमाझीलाई प्रहरी कार्यालय उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न खोज्दा ओलीले उपप्रधानमन्त्री भएको व्यक्तिलाई बाटोमै पक्राउ गर्न खोज्नु गलत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आपत्ति जनाएका थिए ।

उनले रायमाझी फरार नहुने दाबी गरेका थिए । तर रायमाझी अर्घाखाँची पुगेर काठमाडौं फर्कंदै गर्दा सम्पर्कविहीन भएका थिए । तत्कालीन समयमा बचाउ गरेका ओलीले अहिले आत्मसर्मपणको आग्रह गरेका हुन् ।

यसैगरी अध्यक्ष ओलीले माओवादी लडाकुहरुको व्यवस्थापनका क्रममा भ्रष्टाचार भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा खुट्टा कमाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले लडाकु शिविरमा भ्रष्टाचार भए पनि अख्तियारले छानबिन गर्न खुट्टा कमाएको आरोप लगाए ।

शिविरमा रहेका लडाकुहरुका नाममा विनियोजन गरिएको रकम उनीहरुलाई वितरण नगरी भ्रष्टाचार गरिएको दावी गर्दै ओलीले भने, ‘लडाकु शिविरमा भएको अनियमितताको छानबिन गर्ने माग गरे । म अख्तियारलाई आग्रह गर्दछु । यो राज्यको सम्पत्ति हिनामिना हो । यसमा कारबाही गर्न लिरलिर गर्ने होइन, खुट्टा कमाउने होइन । कारबाहीको दायरमा ल्याउनुपर्छ ।’

सरकारले व्यापारीलाई सामुन्नेमा राखेर करको दर निर्धारण गर्ने काम गर्ने गरेर देशको अर्थतन्त्र असहज अवस्थामा पुगेको समेत दावी उनको छ । अध्यक्ष ओलीले रेमिट्यान्स वढेको, अर्थतन्त्र सुधारतिर लागेको जस्ता गलत कुराले कमजोर अर्थतन्त्रको बचाउ सरकारले गरिरहेको आरोप लगाए ।

उनले अहिले पनि लडाकुको नाममा वा अयोग्यको नाममा रकम वितरण गर्ने एकलौटी निर्णय गरिएको भन्दै यो गलत भएको दाबी गरे । उनले अहिले रकम वितरण गर्ने अनि फेरि अर्कोपटक पनि वितरण गर्ने कार्य हुनसक्ने भन्दै यस्तो कार्य रोक्नुपर्ने बताए ।

बैठकमा केन्द्रीय निकायहरू सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायले गरेका कामका विषयमा प्रतिवेदन प्रस्तुत गरेका छन् ।
यसैगरी, पार्टीले सञ्चालन गरेको दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरे । सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेश गरे ।
गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले शुक्रबारको बैठकमा प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।
पेश भएका सबै प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने र समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव पेश गर्ने र सोही अनुसार पार्टीको अगाडी कार्यक्रम तय हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय