डा.सन्दुक रुइतलाई विशेष सम्मान

जनकपुरधाम । विश्व विख्यात नेपालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई जनकपुरधाममा आज आधा दर्जन सरकारी एवं सामाजिक संघ संस्थाहरूले सम्मान गरेको छ ।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले आँखा सर्जन डा. रुइतलाई ती संस्थाहरूको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

नेपालको आँखा सर्जरीमा नयाँ शैली तथा प्रविधिको प्रयोग गरेर विश्वका लागि अनुकरणीय बन्नुभएका रुइतलाई सम्मानित गर्ने संस्थाहरूमा नेपाल रेडक्रस जानकी आँखा अस्पताल जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका, वटेश्वर गाउँपालिका, नेपाल रेडक्रस धनुषा र सर्लाही शाखा रहेका छन् ।

 

सन् २००६ मा रमन म्याग्सेसे पुरस्कारवाट सम्मानित भएका डा. रुइतलाई भारत सरकारले पद्यश्री अवार्ड दिएका थिए । तिलगंगा अस्पताल काठमाडौका शुरुवात पनि डा. रुइत सहितका टोलीले गरेका थिए ।

१ लाख २० हजार भन्दा बढीको आँखा सर्जरी, मोतिया बिन्दुका लागि नयाँ लेन्सको विकास जस्ता थुप्रै राम्रा कामका माध्यमबाट विश्व प्रसिद्ध डा. रुइतलाई सम्मानित गरिएको संस्थाहरूले जनाएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाललाई आँखा उपचारको लागि विश्वविख्यात बनाएका डा. सन्दुक रुइत नेपालका धरोहर भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति एवं जानकी आँखा अस्पतालका अध्यक्ष नरेशप्रसाद सिंहको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ चिकित्सक एवं पूर्व सांसद डा. विजयकुमार सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जनकपुरधाम  उपमहानगरपालिकाका उपमेयर किशोरी साह लगायतले बोलेका थिए। समारोहमा मैथिली कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय