नेकपा व्यूताउँने आन्तरिक गृहकार्यमा प्रचण्ड, नेपाल र ओली

नेकपा व्यूताउँने आन्तरिक गृहकार्यमा प्रचण्ड, नेपाल र ओली काठमाडौं तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यूताउँन आवाज उठेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा व्यूताउँन सकिने जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले हालै बिभिन्न चार पार्टीलाई मिलाएर ‘समाजवादी मोर्चा’ गठन गरेको केही दिन नबित्दै ‘नेकपा’ व्यूताउँन सकिने बताएका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा व्यूताउँन सकिने प्रचण्ड र नेपालको भनाई रहेको छ ।

नेकपा व्यूताउँन प्रचण्ड र नेपाल सहमत भएको र सार्वजनिक रुपमै त्यसका लागि आहवान गरे पनि एमाले अध्यक्ष ओलीले त्यसमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यधपी एमाले भित्रका ठुलो पंक्ति नेकपा व्यूताउँन भने तयार रहेको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भई ३ जेठ २०७५ मा नेकपाको घोषणा भएको थियो । तर तीन बर्ष नबित्दै नेताहरुको सत्ता एवं कुर्सी मोहका कारण नेकपा बिघटन भयो ।

२३ फागुन २०७७ मा नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र व्यूताउँने सर्वोच्च अदालतको फैसला आयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन नेकपालाई पुनः एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने बताउँदै उनले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकीकृत हुनुपर्नेमा जोड दिए । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु भइसकेको बताए ।

गत २७ जेठमा भक्तपुरमा पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा व्यूताउँन प्रस्ताव गरेको केही दिन पश्चात भक्तपुरमै पुगेका प्रचण्डले समेत नेकपा व्यूताउँन प्रस्ताव गरेका हुन् ।

समाजवादी मोर्चा घोषणाको बेलामा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले उल्लेख गरे । कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन एमालेका अध्यक्ष ओलीसँग कम्युनिस्टहरुलाई एकताबद्ध गरेको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले सबै कम्युनिस्टहरुले आफ्ना त्रुटिहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताए । ‘म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन, कमरेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भए पनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्दछ । एक पटक असफल भयो भन्दैमा विश्वभरकै कम्युनिस्ट आन्दोलनको इतिहास, विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रुपान्तरण, फेरि एकता फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ’ प्रचण्डले भने, ‘आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ । कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ।

त्यहाँ विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो ? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ । अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ ।

त्यतिबेला हामीले, माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’ तत्कालिन नेकपा व्यूताउँनमा प्रचण्ड र नेपालको स्वर एउटै रहेको छ । गत २७ जेष्ठमा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनमा सहभागि हुन भक्तपुर पुगेका नेपालले तत्तकालिन नेकपा व्यूताउँन आफू तयार रहेको बताए । नेपालले तत्कालीन नेकपा व्यूताउँन आह्वान गर्दै प्रचण्ड र ओली तयार भए तत्कालिन नेकपा व्यूताउँन सकिने बताए ।

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताउँदै राजावादीले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिइने उल्लेख गरे । ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवावासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं’ नेपालले भने ।

एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले कम्युनिष्ट पार्टीहरुका बीचमा एकताको सम्भावना रहेको बताए । तर बिचारहिन, निजि स्वार्थमा हिडने, दक्षिणपंथीलाई पछ्याउँने, स्वार्थका लागि जे पनि गर्न तयार हुने स्वार्थीसंग, बिचारै नभएको पार्टीसंग एकता गर्नुको कुनै अर्थ नभएको थापाले बताए ।

‘बिचारहिन, निजि स्वार्थमा हिडने, दक्षिणपंथीलाई पछ्याउँने, स्वार्थका लागि जे पनि गर्न तयार हुने स्वार्थीसंग, बिचारै नभएको पार्टीसंग एकता गर्नुको अर्थ छैन्’ थापाले भने, ‘कम्युनिष्ट पार्टीहरुका बीचमा एकताको सम्भावना छ तर केपी ओलीमाथि प्रचण्डले लगाएको आरोेप उनले के गर्ने ? भाडभैलो मचाउँने अनि एकताको रटान रटेर एकता हुन सक्दैन् ।’

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले प्रचण्डलाई अप्ठयारो परेको बेलामा बेमौसमको बाजा बजाउँने गरेको टिप्पणी गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय