‘मिसन इम्पोसिबल ७’ श्रृंखलामध्येकै उत्कृष्ट समीक्षा

काडमाडौं । टम क्रुज स्टारर हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखलाले सकारात्मक समीक्षा प्राप्त गरेको छ । हलिउड सञ्चारमाध्यमले ‘डेड रेकोनिङ पार्ट वान’को समीक्षा प्रकाशित गर्दै श्रृंखलाको प्रशंसा गरेका छन् ।  हलिउड फिल्मको सूचक मानिने रटन टम्याटोजमा फिल्मले इतिहास रच्दै उच्च स्कोर प्राप्त गरेको छ ।

फिल्मको अघिल्लो श्रृंखलाले रटन टम्याटोजमा ९७ प्रतिशत र सबैभन्दा कम दोस्रो भागले ५६ प्रतिशत प्राप्त गरेका थिए । हलिउड रिपोर्टर म्यागजिनले कथा वाचनमा केही समस्या भए पनि बलियो ‘कास्ट’ र उच्च गुणस्तरको ‘प्रोडक्सन भ्यालु’ले दर्शकलाई मनोरञ्जन दिने उल्लेख गरेको छ ।

भेराइटीसहितका म्यागजिनले डेड रेकोनिङलाई फ्रेन्चाइजमध्येकै उत्कृष्ट भएको जनाएको छ । रटन टम्याटोजले ९८ प्रतिशत रेटिङ देखिएको छ, जुन निकै उच्च हो ।

निर्माताले समीक्षकलाई जुन ४ मा नै फिल्म देखाउँदै जुन ५ को रातिसम्म समीक्षा प्रकाशित नगर्न इम्बार्गो नीति लागू गरेका थिए ।

भेराइटी म्यागजिनले फिल्मको सीजीआई र भीएफएक्स विश्वसनीय र आकर्षक लाग्ने उल्लेख गरेको छ । मार्भल र अवतारजस्ता फिल्मको सीजीआई कार्टुनजस्तो देखिने भए पनि यो फिल्मको सीजीआई वास्तविक देखिने र यसले दर्शकलाई विश्वसनीयता प्रदान गर्ने भेराइटीले लेखेको छ ।

इन्टरटेनमेन्ट विक्लीले त आफ्नो समीक्षामा तीन घण्टाको समय पनि छोटो लाग्ने उल्लेख गरेको छ । टाइम म्यागजिनले टम क्रुज केन्द्रित स्टन्ट पर्याप्त र दर्शनीय रहेको बताएको छ । यतिबेला यो फिल्म ट्रेलरदेखि नै चर्चामा छ । क्रुजले गरेका खतरनाक एक्सन दृश्यको कारण पहिलेदेखि नै यो फिल्म चर्चामा छ । यो फिल्म असार २९ गते नेपालमा पनि रिलिज हुँदैछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय