प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक भएको एक दिन नपुग्दै २  मिलिएन बढी भिउज

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको एक दिन नपुग्दै २ मिलिएन भिउज पुगेको छ । पूर्ववत् गीति भिडियोमा झैं यसपालि पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका हुन् । उनले सो गीतमा उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् ।

‘दमाई महाराज’मा प्रकाशले जातीय छुवाछूत र विभेदविरुद्धको विषयवस्तु उठाएका छन् । दमाईको गर्भमा जन्मिएको एउटा अबोध बालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् ।

जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् । हरेक पटक पृथक शैली पस्किने प्रकाशको गीत यसपालि भजन शैलीमा छ । गीत प्रकाश स्वयंले रचेका हुन् । संगीत पनि उनकै हो । आवाजमा प्रकाशलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

धार्मिक सप्ताहको पृष्ठभूमि बनाएर प्रकाशले गीतको म्युजिक भिडियो बनाएका छन् । ‘दमाई महाराज’को म्युजिक भिडियोको कथा र निर्देशन प्रकाश सपूतले गरेका हुन् । भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोलाई मिलनकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् । यो गीति भिडियो उनले आफ्नै युट्युब च्यानलबाट एक दिन अघि सार्वजनिक गरेका थिए।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय