पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा मेयर आचार्यको पुत्ला दहन

पोखरा । पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर आचार्यको पुत्ला दहन गरेको छ । मेयर धनराज आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो ।

आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।
महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।

पोखराका मेयर धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने उनले माग गरे ।

चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको आरोप राप्रपाको छ । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने गुरुङको भनाइ छ । मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मेयर आचार्यले भने सर्वदलीय बैठकको निर्णयअनुसार पृथ्वीनारायणको प्रतिमा हटाएको बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मेयर आचार्यको कदम निन्दनीय भएको बताएका छन् । पृथ्वीचोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न लिङ्देनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय