प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ आईपीओ जारी गर्न पाउने

काठमाडौं । प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न पाउने भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गर्दै पुँजीबजारमा केही नयाँ प्रावधानहरू लागू गर्न स्वीकृति दिएको छ । धितोपत्र बोर्डले प्रस्ताव गरेअनुरुप जस्ताको त्यस्तै नियमावली संशोधन भएको एक मन्त्रीले अनलाइनबखरलाई जानकारी दिए ।
यससँगै आईपीओ निष्कासनका लागि कम्पनी रुपान्तरण गरेर दुई बर्ष कुर्नुपर्ने बाध्यता समाप्त भएको छ । नियमावली संशोधनसँगै प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २ वर्षदेखि कारोबार गरिरहेको कम्पनीले पब्लिकमा रुपान्तरण हुनासाथ सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्न सक्नेछन् ।

‘साविकमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीको हकमा पब्लिक लिमिटेड कम्पनीको रुपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्ने छैन,’ संशोधित नियमावलीमा भनिएको छ ।

यसअघि पब्लिक कम्पनीको रूपमा आफ्नो उद्देश्यअनुसार कारोबार सञ्चालन गर्न आवश्यक कार्यहरू अगाडि बढाई पूरा एक आर्थिक वर्षको अवधि पूरा गरेको कम्पनीले मात्रै सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था थियो ।

यस्तै नियमावली संशोधनसँगै व्यवसाय सञचालनको अवधि १० वर्ष मात्रै रहेका कम्पनीलाई आईपीओ निष्कासनको लागि रोक लगाएको छ । नियमावलीको नियम ३ मो उपनियम ३ थप गर्दै व्यवसाय सञ्चालनको अवधि १० वर्षभन्दा कम बाँकी भएमा त्यस्तो कम्पनीले धितोपत्र बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनको लागि निवेदन दिन नपाउने व्यवस्था थप भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय