आफ्नो सरकारले एक वर्षमा काम गर्न नसकेको प्रधानमन्त्रीद्धारा स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले एक वर्षमा काम गर्न नसकेको स्वीकार गरेका छन् । तर अब कार्यशैली सुधार गरेर काम गर्ने भन्दै उनले केही नयाँ लक्ष्यहरु निर्धारण गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा नेकपा एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनसँगै समीकरण बदलेर नेपाली कांग्रेससँग हात मिलाएका प्रचण्ड सत्ता गठबन्धनलाई कायम राखेपनि सरकार सञ्चालनमा भने चुकेका थिए ।

सुशासनतर्फ सकारात्मक सुरुवात गरेपनि नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सबभन्दा धेरै प्रश्न उठ्यो । केही सूचक सकारात्मक भएपनि अर्थतन्त्रको समस्या कायमै छ भने निजामती कर्मचारी, विद्यालय शिक्षा लगायतका विधेयक निर्माण पनि हुन सकेन ।

प्रधानमन्त्री योजनाविहीन ढंगले चलेको तथा धेरै समय उद्घाटन, शिलान्यास र भाषणका कार्यक्रममा समय खर्चिएकाले परिणाम नआएको विश्लेषकहरु बताउँछन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार सिंहदरबारबाट देशबासीलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले कमजोरी स्वीकार गरेका छन् । ‘आज म देशबासीसामू स्वीकार गदर्छु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसार परिणाम पनि आएन’, प्रचण्डले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै अब कार्यशैली बदल्ने बाचा समेत गरेका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने, नीति तथा कार्यक्रम र बजेटको तयारी तथा विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने भन्दै उनले भने, ‘कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ ।’

आफ्नो कार्यालयमा संरचनात्मक परिवर्तन गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले अबको दिनमा आफ्नो र सरकारको प्राथमिकता केके हुनेछन् भन्ने पनि बताएका छन् ।

सत्तारुढ गठबन्धनका नेताहरुले यसलाई सकारात्मक मानेका छन् । उनीहरुका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनको कार्यकाल अब एक वर्ष छ ।

यदि उनले अरु प्रधानमन्त्रीहरुले जस्तै राम्रो काम गरेको छु भनेको भए सार्वजनिक रुपमा आलोचना त हुनसक्थ्यो, तर सत्ता समीकरणमा केही हुने थिएन ।

तर उनले काम गर्न नसकेको स्वीकार गर्दै अबका प्राथमिकताहरु बताउनु सकारात्मक भएको नेताहरु बताउँछन् । ‘उहाँले आज धेरै काम गर्न नसकेको स्वीकार गर्दै केही नयाँ गर्ने संकल्प गर्नुभएको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ’, नेपाली कांग्रेसका महामन्त्री गगन थापा भन्छन्, ‘तर संकल्प अनुसार काम हुन्छ कि हुन्न चार हप्तामै थाहा हुन्छ ।’

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय