राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधि विश्वनिकेतन माविलाई 

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको हो ।

१७ पुस देखि सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा बिश्वनिकेतन मा. वि. ले १२ स्वर्ण २ रजत र २ कास्य गरी १६ पदक र नगद रु ५० हजार प्राप्त गरेको छ । साथै गतवर्षको राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयलाई शिल्डको रेप्लिका प्रदान गरिएको छ ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्ने पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।

दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित पुरस्कृत गरियो । ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वाना स्थान हासिल गरेको छ ।

पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक बिकास समितिका संयोजक रामकुमार के सी, निमित्त प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालय र खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले खेलमा सहभागी सबै खेलाडीले कुनै न कुनै रुपमा खेल जितेको बताउँदै खेलमा सफल हुनेहरु व्यवहार र आचरणमा असल हुन सुझाव दिएकी थिईन् ।

हाल सम्म महानगर स्तरीय खेलबाट जिल्ला स्तरीय खेलका लागि १०१ जना खेलाडी छानिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।

समापन एवं पुरस्कार बितरण कार्यक्रममा महानगर शिक्षा अधिकृत मोतिप्रसाद भट्टराई, नेत्र नारायण पौडेल, शिक्षा बिभागका कर्मचारी, विभिन्न बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्र. अ. शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत ईन्द्र प्रसाद दहालले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय