झापा राजश्व चुहावट हुनुमा खुल्ला सीमा नै मुख्य चुनौती :प्रमुख जिल्ला अधिकारी

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले राजस्व चुहावट नियन्त्रणमा सम्बन्धित पक्षबाट अथक प्रयास भइरहँदासमेत खुल्ला सीमा नै मुख्य चूनौति देखिएको बताएका छन् । मेची भन्सार कार्यालयद्वारा शुक्रवार आयोजित ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवश समापन समारोहमा प्रमुख अतिथि रहेका उनले यस्तो बताएका हुन् । समारोहमा विशिष्ट अतिथि रहेकी भारत नक्सलबाडी कस्टम डिभिजनकी असिस्टेन्ट कमिस्नर निमा ल्हामू शेर्पाले दुई देशबीचको आयात–निर्यातका उल्झन सुल्झाउन, दुवैतर्फको राजस्वमा बढोत्तरीलगायतका विषयमा सघन छलफलको आवश्यकता औंल्याइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य केशवराज पाण्डे, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष ओमकृष्ण विमली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा भन्सारले सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएबापत पत्रकार एभिन्यूजकर्मी मुक्ति पौडेललाई सम्मान गरेको छ । यस्तै, गतवर्ष सर्वाधिक राजस्व दाखिला गर्ने नेपाल आयल निगम चारआली शाखा, गतवर्ष सर्वाधिक मूल्यको मालवस्तु निकासी गर्ने आरती स्ट्राइप्स प्रालि टंकिसिनुवारी मोरङ र गतवर्ष सर्वाधिक मूल्यको कृषिजन्य मालवस्तु निकासी गर्ने नेपाल एभरेष्ट कार्डामम प्रडक्सन एण्ड प्रोसेसिङ प्रालिलाई सम्मान गरियो । त्यस्तै, भन्सार विभागबाट पुरस्कृत भएका एभरग्रिन ट्रेड सेन्टरका प्रोपाइटर केशवराज पाण्डे र मेची भन्सारका कम्प्युटर अपरेटर श्याम रिजाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो ।

सो अवसरमा मेची भन्सारका कर्मचारीतर्फ कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, नायब सुब्बा लक्ष्मण तामाङ र भद्रपुर भन्सारकी कार्यालय सहयोगी रिता खवास कार्कीलाई सम्मान गरियो । त्यस्तै, वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरु र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका खेलाडीहरुलाई पुरस्कारराशीसहित प्रशंसापत्र प्रदान गरियो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको समारोहमा स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सारका नायब सुब्बा वीपी कोइरालाले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय