रफ हेन्डलिंग र ट्रिटमेन्ट नमिल्नु शीत भण्डारणमा सुन्तला कुहिनुको वैज्ञानिक कारण

 

अर्घाखाँचीको पाणिनिमा शीत भण्डारमा राखेका सुन्तलाहरु रफ हेन्डलिंग र ट्रिटमेन्ट नमिलेकाकारण हरियो र निलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको छ ।पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन मध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।

वैज्ञानिक अनसन्धानपछि सुन्तला मुख्य गरी हरियो (Pencillium digitatum) र निलो (Pencillium digitatum)ढुसीको कारणले गर्दा सुन्तला नष्ट भएको वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान पछि निष्कर्ष रहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

भण्डारण गर्दा प्राविधिक टु्रटी रहेको, खुला हातले पन्जा नलगाइ शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाइ निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको जसका कारण अघिल्ला बर्षहरुको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धान पछि पत्ता लागेको छ । सुन्तलालाई पटक पटक हातले छुदा ढुसीले बढी आक्रमण्म गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नु पर्नेमा सबै पाकेका सुन्तलाहरु टिपेको, हातले बढी प्रयोग भएको, हातका कारण बढी ढुसी लागेको निश्कर्ष छ ।

सुन्तला कसरी र किन कुहियो भनेर आइतवार नेपाल कृषि अनुसन्धान परिषदका बरिष्ठ वैज्ञानिक उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटबलका बागबानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको टोलीले स्थलगत रुपमा शीत भण्डारणमा पुगी सुन्तला कुहिएको बारेमा अनुसन्धान गरेको थियो ।
शीत भण्डारणमा राखेका ६३ मेट्रिक टन सुन्तला कुहिएपछि ९० रुपैया प्रति केजीमा सुन्तलको हिसाब गरेपनि कृषकहरुले झण्डै ५६ लाख ७० हजार रुपैया घाटा बेहोर्नु परेको छ । कृषकहरु मान वहादुर श्रेष्ठ, चिरञ्जिवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारणमा स्थानीय स्तरमा उत्पादन भएको ४५ सय क्यारेट अर्थात ९० टन सुन्तला राखेका थिए ।

शीत भण्डारणमा राखेपछि वेमौषमी समयमा महंगो बिक्री गर्ने उदेश्यले राखेका सुन्तलामा ढुसी लागेपछि आफुहरुलाई ठुलो घाटा परेको कृषकहरुको भनाई छ । अघिल्ला दुई वर्षमा पनि यस्तै कुहिएर नोक्सान भएका थिए । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाए अनुसार सुन्तला भण्डारण गर्दापनि कुहिएर नष्ट भएको कृषकहरुको भनाई रहेको छ ।अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी वर्षेनी सुन्तलामा बिग्रदा किसान चिन्तित भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्ष अघि ३ सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो । कोल्डस्टोर सिम्लेका सुन्तला कृषकको शिवशक्ति मिश्रित कृषक समूहले सञ्चालन गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय