जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले  टीकापुरस्थित सरकारी जग्गामा प्लटिङ गरी आफन्तलगायतको नाममा पास गरेको अभियोगमा टीकापुर विकास समितिका पदाधिकारी लगायतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको आरोपपत्रमा उल्लेख छ । टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको खुलेको आयोगले जनाएको छ ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ÷संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अभियोग पत्रमा उल्लेख छ ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याउनलेलाई कारवाहीको माग अख्तियारले गरेको हो । आयोगले अध्यक्ष जोशीलाई विगो असुल उपर हुनेगरी दुई करोड १२ लाख ४० हजार ९ सय ४४ रुपैँया जरिवाना थप सँजायको माग गरेको छ । प्राप्त प्रमाणका आधारमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय