एक खेल बाँकी रहँदै क्यानडासँगको एकदिवसीय सिरिजमा नेपालको कब्जा

नेपाली क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडासँगको एकदिवसीय सिरिज जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै नेपालले सिरिज २–० ले जितेको हो ।

क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३, पवन सर्राफले १४ र आसिफ सेखले १० रन बनाए । कुशल मल्ल र सोमपाल कामीले अविजित ९–९ रन जोडे ।

क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो ।

क्यानडाका लागि आरोन जोनसनले ६५, नवनित दालिवाले ४६, प्रगत सिंहले ३८, निकोलस किर्तोनले २०, श्रेयश मोभ्भाले ४० र उदय भागवानले अविजित २० रन बनाए । नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २–२ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए । अब नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि बिहीबार भएको खेलमा नेपाल ७ रनले विजयी भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय