काठमाडौं सहित पाँच जिल्लामा अफ्रिकन स्वाइन फिभरको संक्रमण

काठमाडौं । सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा देखिने ‘अफ्रिकन स्वाइन फिभर’ काठमाडौंसहित पाँच जिल्लामा देखिएकोे छ । काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा यो संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । पछिल्लोपटक कीर्तिपुर नगरपालिका–६ र ललितपुरको गोदावरी नगरपालिका–७ मा अफ्रिकन स्वाइन फिभर देखिएको छ । गोदावरीका केही व्यावसायिक बंगुर फार्महरूमा स्वाइन फिभर पुष्टि भएको ललितपुर महानगरपालिकाकाले जनाएको छ ।

उपत्यकामा समेत यो संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन पशु सेवा विभागले अपिल गरेको छ । चीन तथा भारतमा सन् २०१८ देखि देखिएको अफ्रिकन स्वाइन फिभर संक्रमण नेपालमा भने २०७८ चैतमा मात्रै देखिएको हो । त्यसको पुष्टि २०७९ जेठ २ गते मा भएको थियो । दुई वर्षको अवधिमा २८ जिल्लामा फिभर फैलिएको पशु सेवा विभागले जनाएको छ । अफ्रिकन स्वाइन फिभर सुँगुर, बंगुर प्रजातिमा भाइरसका कारण हुने महामारीजन्य रोग हो ।

हालसम्म यसको प्रभावकारी उपचार पद्धति नभएका कारण संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशतसम्म हुन्छ । फिभर संक्रमित अधिकांश जनावरमा लक्षण कम देखिन्छ । केहीमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, छेर्ने, छट्पटाउने, गर्भ तुहिने, कानका टुप्पाहरूमा रगत जम्ने, खाना नखाने,बान्ता गर्ने र केही दिनपछि मृत्यु हुने गर्दछ । अफ्रिकन स्वाइन फिभर सुंगुर र बंगुर प्रजातिका जनावरबीचको प्रत्यक्ष सम्पर्कबाट सर्नेगर्छ । संक्रमित पशुको ¥याल, रगत, मलमूत्र, दानापानी, संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेका सामाग्रीहरूमार्फत एक अर्कामा यो संक्रमण सर्ने पशु चिकित्सकहरुले बताएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय