अर्थतन्त्रको मुख्य स्रोत भन्सार भएकाले राजस्व वृद्धितर्फ ध्यान केन्द्रित गर्न अर्थमन्त्री महतको निर्देशन

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको मुख्य स्रोत भन्सार भएकाले राजस्व वृद्धितर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । आइतवार मेची भन्सार कार्यालयका र्मचारीहरुलाई उनले राजस्व संकलनमा उच्च लक्ष्य लिएर शतप्रतिशत असुलीतर्फ लाग्न निर्देशन दिएका हुन् ।

भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट मात्र अवैध चोरी पैठारी नियन्त्रण सम्भव नहुने बताउँदै डा महतले नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय सरकारको समेत सहयोग हुनुपर्नेमा जोड दिए । त्यसक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले लक्ष्य अनुरुप राजस्व संकलन नहुनुको कारण, लक्ष्य हासिल गर्न लिइएको रणनीति, सम्भावना र चूनौतिजस्ता विषय अवगत गराए ।

मन्त्री महतसमक्ष उनले दक्ष जनशक्तिको आपूर्ति, नाकालाई कोरोनाअघिकै लयमा फर्काउन पहल, बजेट निकासालगायत विविध विषयमा अपेक्षा राखे । त्यसक्रममा संविधानसभा सदस्य उषा गुरुङले अर्थमन्त्री महतलाई पूर्वी नाकाबाट तेस्रो मुलुकका नागरिक आउन नपाउँदा कोशी प्रदेशको आर्थिक पक्ष डामाडोल भएको अवगत गराइन् ।

पर्यटन व्यवसायीसमेत रहेकी गुरुङले पूर्वी नाकालाई कोरोनाअघिकै लयमा फर्काउन आवश्यक पहल गर्न आग्रह गरिन् । त्यसक्रममा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री र काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका कार्यालय प्रमुख दीपक पोखरेलले खानेपानीको दीर्घकालीन व्यवस्थापनमा आर्थिक स्रोतको सुनिश्चितताका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
त्यसअघि अर्थमन्त्री डा. महतले नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेची पुल र भद्रपुर भन्सार कार्यालयको निरीक्षण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय